अर्नब चक्रवातको प्रभाव आज रातिदेखि नेपालमा, पाँच प्रदेशमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको जोखिम

Oct 29, 2026 - 09:06
 0  6
अर्नब चक्रवातको प्रभाव आज रातिदेखि नेपालमा, पाँच प्रदेशमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको जोखिम

ईर्साद अन्सारी

११कातिक,काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव बिहीबार रातिदेखि नेपालमा देखिने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी पूर्वानुमानअनुसार शुक्रबार र शनिबार देशका विभिन्न क्षेत्रमा वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ।

मौसम प्रणालीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा तुलनात्मक रूपमा बढी वर्षा हुने सम्भावना छ। यी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने विभागले जनाएको छ। बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा बादल लाग्ने सम्भावना छ।

कोशी र बागमतीका हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुन सक्नेछ भने मधेश प्रदेशका पहाडी तथा तराईका केही स्थानमा पनि वर्षाको सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान छ।

शुक्रबार र शनिबार मौसम थप प्रतिकूल हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपातको जोखिम रहनेछ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको सम्भावनासमेत औँल्याइएको छ। मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलगायत जिल्लामा वर्षाको सम्भावनालाई ध्यानमा राखेर किसानले धानबाली सुरक्षित राख्नुपर्ने देखिएको छ।

पाकेको धान खेतमै रहेको वा काटेर सुकाउन राखिएको अवस्थामा वर्षाले क्षति पुर्‍याउन सक्ने भएकाले मौसमको सूचना हेरेर बाली भित्र्याउने व्यवस्था गर्न सुझाव दिइएको छ।

यद्यपि, सबै जिल्लामा एकै किसिमको वर्षा हुने निश्चित छैन। पहाडी क्षेत्रमा भारी वर्षाका कारण पहिरो, गेग्रान बग्ने र सडक अवरुद्ध हुने जोखिम रहन सक्छ। नदी तथा खोलानजिक बसोबास गर्नेले पानीको बहाव बढ्न सक्ने अवस्थालाई ध्यान दिनुपर्नेछ।

हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक, पदयात्री तथा पर्वतारोहीलाई मौसम अनुकूल नभएसम्म उच्च उचाइका गन्तव्यतर्फ नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0