पोखरामा नवजात शिशु शौचालयको च्याम्बरमा फेला, १९ वर्षीया आमा पक्राउ

Oct 29, 2026 - 08:22
 0  1
पोखरामा नवजात शिशु शौचालयको च्याम्बरमा फेला, १९ वर्षीया आमा पक्राउ

१२ कातिक,पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडमा सालनालसहितको नवजात शिशु शौचालयको च्याम्बरमा फालेर फरार भएको आरोपमा १९ वर्षीया महिला पक्राउ परेकी छन्।

 जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कात्तिक ३ गते साँझ करिब ७ः४० बजे लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको शौचालयको च्याम्बरमा नवजात पुरुष शिशु मृत अवस्थामा फेला परेको थियो।

 तोडबहादुर थापाको टिनले छाएका टहरामा रहेको शौचालय जाम भएर पानी बाहिर ननिस्किएपछि घरधनीले च्याम्बर खोलेर हेर्दा सालनालसहितको नवजात शिशुको शव फेला पारेका थिए।

 घटनाको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान तथा शव जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो।

 प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–२१ कृष्टी माइतीघर भएकी तथा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थायी ठेगाना भएकी निरुता नेपाली घटनापछि फरार रहेको खुलेको थियो।

 उनी हाल पोखरा महानगरपालिका–६ लेकसाइडस्थित तोडबहादुर थापाको घरमा भाडामा बस्दै आएकी थिइन्। प्रहरीले खोजतलास गर्ने क्रममा कात्तिक ४ गते राति १ः१५ बजे पोखरा महानगरपालिका–२१ लुकुन्स्वाराबाट उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकी महिलाको चिकित्सकबाट स्वास्थ्य परीक्षणसमेत गराइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निरुताको स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ निवासी राजन सार्कीसँग २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको खुलेको छ।

 उनीमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0