अर्घाखाँचीमा ब्रेक फेल भएर बस दुर्घटना, मोटरसाइकललाई ठक्कर दिँदा ३२ जना घाइते
२० कातिक,अर्घाखाँची । अर्घाखाँचीमा ब्रेक फेल भएको बसले मोटरसाइकललाई ठक्कर दिएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
सुक्रबार दिउँसो १ः२० बजे शितगंगा नगरपालिका–२ खाँचीखोलास्थित सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा दुर्घटना भएको हो । सुपादेउरालीबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बसको ब्रेक फेल भएपछि सोही दिशातर्फ गइरहेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएपछि बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक र मोटरसाइकल चालकसहित ३२ जना घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि ठाडा स्वास्थ्य चौकी पुर्याइएको थियो ।
तीमध्ये ११ जनालाई थप उपचारका लागि भैरहवा अस्पताल पठाइएको छ भने अन्य घाइतेको ठाडा स्वास्थ्य चौकीमै उपचार भइरहेको छ । घाइतेमध्ये पश्चिम नवलपरासीको सुनवल नगरपालिका क्षेत्रका अधिकांश यात्रु रहेका छन् ।
घाइते हुनेमा ७ देखि ९० वर्ष उमेर समूहका यात्रु छन् । मोटरसाइकल चालक अर्घाखाँचीको शितगंगा नगरपालिका–१ सुवर्णखालका २१ वर्षीय शुसिल सिजापती र पछाडि सवार सन्धिखर्क नगरपालिका–७ खाँचीगौचरका १२ वर्षीय मनिष गुरुङ पनि घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेमा रुपन्देहीको देवदह नगरपालिका–५ का ३२ वर्षीय मदन श्रेष्ठ र बस चालक ४४ वर्षीय शेरबहादुर थापा पनि छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0