माछाको आडमा भएको सम्भावित तस्करी र भन्सार जाँचको पारदर्शितामाथि उठेका प्रश्नको जवाफ कसले दिने?

Nov 6, 2026 - 15:46
 0  3
माछाको आडमा भएको सम्भावित तस्करी र भन्सार जाँचको पारदर्शितामाथि उठेका प्रश्नको जवाफ कसले दिने?

२० कातिक,वीरगञ्ज । भारतबाट माछा बोकेर आएको एउटा ट्रकमा भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा २ हजार ६४० किलो बढी माछा फेला परेको छ।

वीरगञ्ज भन्सार कार्यालयमा गरिएको जाँचका क्रममा बढी माछासँगै नेपालमा प्रतिबन्धित झिँगा माछा र पटाकासमेत भेटिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले कात्तिक १८ गते राति नियन्त्रणमा लिएको प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको टाटा ट्रक कात्तिक १९ गते थप अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो।

प्रहरीको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाका आधारमा कात्तिक १८ गते राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिइएको थियो। ट्रकमा १६ क्विन्टल माछाको मात्र भन्सार प्रज्ञापनपत्र रहेकोमा कागजातमा उल्लेखित परिमाणभन्दा ४४ बाकस अर्थात् २ हजार ६४० किलो बढी माछा लोड रहेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रकका चालक वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रवि कुमार साहलाई ट्रकसहित ३२ लाख ११ हजार ३ सय २१ रुपैयाँ मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको थियो। भन्सार कार्यालयका अनुसार घोषणाभन्दा बढी भेटिएको माछाबापत ७ लाख रुपैयाँभन्दा बढी जरिवाना तिराइएको छ। 

 सुरज फिस सप्लायर्सको नाममा आयात, भारतीय बालाजी ट्रेडर्स निर्यातकर्ता भन्सार प्रज्ञापनपत्रमा उक्त माछाको आयातकर्ताका रूपमा वीरगञ्जस्थित सुरज फिस सप्लायर्स र निर्यातकर्ताका रूपमा भारतको रक्सौलस्थित बालाजी ट्रेडर्स को नाम उल्लेख रहेको छ।

 भारतको आन्ध्र प्रदेशबाट ल्याइएको माछा वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) हुँदै नेपाल भित्रिएको थियो। दैनिक ठूलो परिमाणमा भारतबाट माछा आयात हुने आईसीपीबाटै जाँचपास भएर निस्किएको ट्रकमा घोषणाभन्दा ठूलो परिमाणमा माछा भेटिनुले भन्सार जाँच प्रणालीमाथि प्रश्न उठाएको छ।

भन्सार स्रोतका अनुसार ट्रकमा नेपालमा प्रतिबन्धित झिँगा माछा पाँच बोरामा समेत फेला परेको थियो। उक्त माछा नष्ट गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। ट्रकमा प्रतिबन्धित बाम माछासमेत रहेको बताइए पनि त्यसको परिमाण र आधिकारिक विवरण सार्वजनिक भएको छैन।

 जाँचमा संलग्न एक कर्मचारीका अनुसार ट्रकमा रहेका सबै माछाका बाकस खोलेर परीक्षण गरिएको थिएन। केही बाकस मात्र खोलेर औपचारिकता पूरा गरिएको उनको भनाइ छ। प्रतिबन्धित माछा रहेको भनिएको अवस्थामा सबै बाकसको परीक्षण नगर्नुको कारणसमेत स्पष्ट हुन सकेको छैन।

माछाको त्रिपाल खोल्दा पटाका भेटियो, सञ्चारकर्मीलाई हटाइयो

माछा लोड ट्रकको जाँच गर्ने क्रममा अर्को रहस्यमय पक्ष पनि बाहिर आएको छ। भन्सार कर्मचारी र जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चका प्रहरी निरीक्षक आशुतोष शाहीको प्रत्यक्ष निगरानीमा ट्रकको त्रिपाल खोल्नेबित्तिकै माथिल्लो भागमै राखिएका पटाका भेटिएको जाँचमा संलग्न एक कर्मचारीले बताएका छन्।

 पटाका देखिएपछि केही सञ्चारकर्मीले घटनाको तस्बिर खिचेका थिए। तर, त्यसलगत्तै प्रहरी निरीक्षक शाहीको आदेशमा प्रहरीले सञ्चारकर्मीलाई जाँचस्थलबाट बाहिर हटाएको बताइएको छ।

जाँचमा संलग्न ती कर्मचारीका अनुसार प्रहरी निरीक्षक शाहीले बरामद पटाका आफैँ लिएर गएका थिए। तर, कति परिमाणमा पटाका बरामद भएको थियो, त्यसको मुचुल्का बनाइयो वा बनाइएन र कहाँ बुझाइयो भन्ने विवरण सार्वजनिक भएको छैन।

अझ आश्चर्यजनक पक्ष के छ भने जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पटाका बरामद भएको विषय नै उल्लेख छैन। प्रहरीले बढी माछा लोड भएको र चालकसहित ट्रक भन्सारमा बुझाइएको विवरण मात्र सार्वजनिक गरेको छ।

पटाका जस्तो संवेदनशील वस्तु फेला पर्दा त्यसको परिमाण, प्रकृति, मुचुल्का र जिम्मा बुझाएको अभिलेख सार्वजनिक नहुनुले जाँच प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

माछाको गुणस्तर र उपभोक्ता स्वास्थ्यको प्रश्न

भारतको आन्ध्र प्रदेशबाट वीरगञ्ज हुँदै नेपाल भित्रिने माछाको गुणस्तर र उपभोक्ता स्वास्थ्यसम्बन्धी प्रश्न पनि महत्त्वपूर्ण छ। माछालाई लामो समयसम्म ताजा राख्न फर्मालिनजस्ता रसायन प्रयोग हुन सक्ने भएकाले आयातित माछाको गुणस्तर परीक्षण प्रभावकारी हुनुपर्ने उपभोक्ताको अपेक्षा छ।

यद्यपि उक्त ट्रकमा ल्याइएको माछामा फर्मालिन प्रयोग भएको पुष्टि गर्ने प्रयोगशाला परीक्षणको विवरण सार्वजनिक भएको छैन। एउटै ट्रकमा भन्सार घोषणाभन्दा २ हजार ६४० किलो बढी माछा, प्रतिबन्धित प्रजातिका माछा र पटाका भेटिएको घटनाले आयात प्रक्रिया, भन्सार जाँच तथा सुरक्षा निगरानीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

भन्सार घोषणाभन्दा बढी माछा कसरी आयो?

 प्रतिबन्धित माछा कसरी आईसीपीबाट जाँचपास भएर बाहिरियो? माछाका बाकसमा पटाका कसले र किन राखेको थियो? बरामद पटाका कति थियो र प्रहरी निरीक्षकले कहाँ बुझाए? सञ्चारकर्मीलाई जाँचस्थलबाट किन हटाइयो? यी प्रश्नको जवाफ वीरगञ्ज भन्सार कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गर्नुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0