हिम्लुङ हिमपहिरोमा थप २ शव भेटिए, मृतकको संख्या ४ पुग्यो

Sep 28, 2026 - 15:30
 0  4
हिम्लुङ हिमपहिरोमा थप २ शव भेटिए, मृतकको संख्या ४ पुग्यो

१२ असाेज,मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

 हिम्लुङ बेस क्याम्पमा हिमपहिरो गएपछि सम्पर्कविहीन भएका १२ जनामध्ये यसअघि दुई जनाको शव फेला परेको थियो । उनीहरूको शव प्रदेश अस्पताल चामेमा ल्याएर सोमबार बिहान कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ ।

 टिचिङ अस्पताल पठाइएका शव संखुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेबि भोटे र भोटखोला गाउँपालिका–२ का करिब ३१ वर्षीय पासाङ भोटेको रहेको प्रहरीले जनाएको छ । यसैबीच सोमबार बिहान करिब ११ बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको छ ।

उद्धार गरिएका दुवै शवको नामथर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन । प्रहरीका अनुसार गत भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न २२ जना नेपाली नागरिक त्यहाँ पुगेका थिए ।

तीमध्ये असोज ११ गते साँझ ५ः३० बजे १० जना सकुशल फु गाउँमा आइ बसेका थिए भने बाँकी १२ जना सम्पर्कविहीन भएका थिए । हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फको दूरीमा रहेको छ । घटनापछि सम्पर्कविहीन रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0