समानान्तर महाधिवेशन अघि बढाउँदै देउवा पक्ष, ७ लाख ८३ हजार क्रियाशील सदस्यको विवरणसहित वडा अधिवेशन सुरु

Oct 1, 2026 - 08:55
 0  5
समानान्तर महाधिवेशन अघि बढाउँदै देउवा पक्ष, ७ लाख ८३ हजार क्रियाशील सदस्यको विवरणसहित वडा अधिवेशन सुरु

१५ असाेज,काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद थप चर्किँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले आजदेखि आफ्नो समानान्तर महाधिवेशन प्रक्रिया अघि बढाउँदैछ ।

 देउवा पक्षले आज देशभर वडा अधिवेशन सुरु गर्न लागेको हो । संस्थापन पक्षले यसअघि नै आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइसकेको अवस्थामा देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर अधिवेशन अघि बढाएको हो ।

 देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

त्यसअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ । उक्त कार्यतालिका निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ । वडा अधिवेशनका लागि देउवा पक्षले देशभर निर्वाचन अधिकृत तथा संयोजक परिचालन गरेको जनाएको छ ।

 पछिल्लो विवरणअनुसार ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको छ भने सबै जिल्लामा निर्वाचन अधिकृत परिचालन गरिएको बताइएको छ । देउवा पक्षीय महाधिवेशन तयारी समितिका अनुसार वडा अधिवेशनबाट सम्बन्धित वडाको क्रियाशील सदस्यताको संख्याका आधारमा क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।

 देउवा पक्षले आफ्नो अधिवेशन प्रक्रियाका लागि छुट्टै क्रियाशील सदस्यताको विवरणसमेत निर्वाचन समितिलाई बुझाइसकेको जनाएको छ । सो विवरणमा ७ लाख ८३ हजार ८३६ क्रियाशील सदस्य रहेको बताइएको छ । कांग्रेसको महाधिवेशन प्रक्रियालाई लिएर संस्थापन र देउवा पक्षबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।

देउवा पक्षले पार्टीको आधिकारिकता र महाधिवेशन प्रक्रियाबारे प्रश्न उठाउँदै सहमतिका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको थियो । संस्थापन पक्षले भने आफ्नो निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाएको छ ।

यसबीच देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहबाटै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्ने बताएका छन् । उनले कांग्रेसका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उच्च मनोबल र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् ।

 यससँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढेका छन् । दुवै पक्षले आ–आफ्नो प्रक्रियाबाट पार्टीको वैधानिकता स्थापित गर्ने तयारी गरिरहेकाले कांग्रेसको आन्तरिक विवाद थप पेचिलो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0