संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित, ३ दिनभित्र छानबिन गर्न निर्देशन

Oct 5, 2026 - 20:08
 0  0
संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित, ३ दिनभित्र छानबिन गर्न निर्देशन

१९ असाेज,काठमाडौं । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन् ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि दाहाललाई निलम्बन गरिएको जनाएको हो ।

 मन्त्रालयका अनुसार दाहालमाथि लागेको अभियोगमाथि जाँचबुझ गर्न ३ दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेस गर्ने गरी जाँचबुझ अधिकृत तोकिएको छ ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ । दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको भनी सशस्त्र प्रहरी बलबाट मन्त्रालयमा कारबाहीका लागि सिफारिस आएको विज्ञप्तिमा उल्लेख छ ।

 मन्त्रालयले आफ्नो मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी र विश्लेषण भइरहेको जनाएको छ ।

कानुनविपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले विधिको शासन, कानुनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति प्रतिबद्ध रहेकोसमेत जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0