सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न प्रधानमन्त्रीको आग्रह
३१ असाेज,बारा । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गर्दै सत्य र सुशासनको बाटोमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्।
प्रधानमन्त्रीले फेसबुकमार्फत सार्वजनिक गरेको शुभकामना सन्देशमा बडादसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वका रूपमा उल्लेख गर्दै यसले नेपाली समाजमा एकता, आत्मीयता र पारिवारिक सम्बन्धलाई बलियो बनाउने बताएका छन्।
उनले बडादसैँले असत्यमाथि सत्यको विजयको सन्देश दिने उल्लेख गर्दै समाजमा रहेका आसुरी प्रवृत्तिको अन्त्य र व्यक्तिभित्रका काम, क्रोध, लोभ, ईर्ष्या तथा अहङ्कारमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिएका छन्। सन्देशमा पछिल्लो समय विभिन्न विपद्का कारण जनधनको क्षति भएका घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको पनि उल्लेख गरिएको छ। प्रधानमन्त्रीले वैदेशिक रोजगारीका कारण नेपाली गाउँघरका घरआँगन रित्तिँदै गएको तथा चाडपर्वमा परिवारसँगै बसेर रमाउने चाहना हुँदाहुँदै पनि धेरै नेपाली विदेशमै रहन बाध्य भएको यथार्थप्रति चिन्ता व्यक्त गरेका छन्।
आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उल्लेख गर्दै उनले नागरिकको आर्थिक सम्पन्नता, देशको समृद्धि र सुशासन स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बडादसैँले नेपाली समाजमा आपसी सद्भाव, एकता र आत्मीयता अझ बलियो बनाओस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0