म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ लेबलिङ गर्ने बारा र पर्साका दुई जना काठमाडौंबाट पक्राउ

Oct 2, 2026 - 19:41
 0  17
म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ लेबलिङ गर्ने बारा र पर्साका दुई जना काठमाडौंबाट पक्राउ

१६ असाेज,काठमाडौं । म्याद गुज्रिएका तथा मिति उल्लेख नभएका खाद्यवस्तुमा नयाँ मिति र लेबलिङ गरी बिक्री वितरण गरेको आरोपमा बाराका एक र पर्साका एक गरी दुई जनालाई काठमाडौंमा नियन्त्रणमा लिइएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित सिद्धि विनायक खाद्य स्टोरमा म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति लगाएर बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो।

 अनुगमनका क्रममा बाराको प्रसौनी गाउँपालिका–१ घर भई तीनथानामा बस्दै आएका ४० वर्षीय विजेन्द्र साह र पर्साको बिन्दवासिनी गाउँपालिका–२, बहुअर्वाभाठा घर भई तीनथानामै बस्दै आएका ४९ वर्षीय अखिलेस प्रसाद कलवारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 उनीहरूको साथबाट मिति राख्ने मेसिन एक थान, विभिन्न खाद्यवस्तुका नाममा प्रयोग गरिने लेबलिङ स्टिकर, बोरा सिलाउने मेसिन, ल्यापटप र प्रिन्टर बरामद गरिएको छ।

त्यस्तै, म्याद गुज्रिएको काजु एक बाल्टी, पेस्ता र एल्मण्ड एक–एक कार्टुन, कालो भटमास चार बोरा, मकै दुई बोरा तथा हरियो केराउ एक बोरा पनि फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सामग्रीमा ‘माकवानपुरी राजमा’, ‘अबिर/केशरी’, ‘ब्राजिलियन पपकर्न’, ‘लोकल खैरो तिल’, ‘ओखर’ र ‘केराउ’ लगायतका नाममा प्रयोग गरिएका लेबलिङ स्टिकर रहेका छन्।

 नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0