चीनको तिब्बतमा भूकम्प : १६ जनाको मृत्यु, ४६ घाइते, ३३९ घर भत्किए
६ कार्तिक, एजेन्सी । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। बिहीबार राति गएको भूकम्पले उत्तरी तिब्बतको नाग्चु क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
स्थानीय अधिकारीहरूका अनुसार भूकम्पका कारण कम्तीमा ३३९ घर र २० वटा पशु गोठ भत्किएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको र अन्य ३५ जना सामान्य घाइते भएको एसोसिएटेड प्रेस (एपी) ले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।
भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ। प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले १ हजार वटा पूर्वनिर्मित आवास, करिब ३ हजार पाल, खाट, टर्चलाइट तथा न्यानो कपडासहितका राहत सामग्री पठाएको छ।
उद्धार कार्यमा १ हजार ६ सयभन्दा बढी कर्मचारी परिचालन गरिएको जनाइएको छ। भूकम्पका कारण केही क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ। ढुंगा खस्ने जोखिमका कारण राष्ट्रिय राजमार्ग ३१७ को एक खण्डसमेत बन्द गरिएको छ।
उक्त सडकमा उद्धार तथा राहत कार्यमा संलग्न सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ। प्रभावित क्षेत्रमा आगामी तीन दिनसम्म बीचबीचमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। यसले उद्धार तथा राहत कार्यमा थप कठिनाइ उत्पन्न गर्न सक्ने अधिकारीहरूले बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प स्थानीय समयअनुसार राति १० बजेर ३३ मिनेटमा गएको थियो। यसको केन्द्रविन्दु नाग्चुबाट करिब १९१ किलोमिटर पूर्व–उत्तरपूर्वमा रहेको उच्च पहाडी क्षेत्रमा थियो।
यूएसजीएसले भूकम्पको गहिराइ १८ किलोमिटर रहेको जनाएको छ भने चीनको भूकम्प सञ्जाल केन्द्रले १० किलोमिटर उल्लेख गरेको छ। चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार यो उक्त क्षेत्रमा पछिल्लो पाँच वर्षमा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो।
फाेटाे: एसोसिएटेड प्रेस (एपी),
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0