विजयादशमीले नेपाली समाजलाई अभूतपूर्व एकताको सूत्रमा बाँध्नेछ: रास्वपा सभापति लामिछाने
ईर्साद अन्सारी
४ कार्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकको घडीमा परेको यस वर्षको बडादशैंले नेपाली समाजमा एकता, सद्भाव र नयाँ आशा जगाउने विश्वास व्यक्त गरेका छन्।
विजयादशमी, २०८३ को अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका हुन्। उनले यस वर्ष धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित हुनुपरेको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
सङ्कटको संवेदनशील परिस्थितिमा विजयादशमीले सकारात्मक ऊर्जाको सञ्चार गर्दै नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।
लामिछानेले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा निःस्वार्थ भावले समर्पित हुन सबैलाई आग्रह गरेका छन्। नवदुर्गा भवानीले सबैलाई सद्बुद्धि, शक्ति र सङ्कटसँग जुध्ने अदम्य साहस प्रदान गरून् भन्ने कामनासमेत उनले गरेका छन्।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको विजयादशमीले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गरोस् भन्दै लामिछानेले बडादशैंको शुभकामना व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0