बिहारमा दरोगाका दुई छोरामाथि गोली प्रहार, कान्छाको मृत्यु, जेठा गम्भीर

Oct 20, 2026 - 18:36
 0  21
बिहारमा दरोगाका दुई छोरामाथि गोली प्रहार, कान्छाको मृत्यु, जेठा गम्भीर

३ कार्तिक,बारा । भारतको बिहार राज्यस्थित गयाजी जिल्लामा प्रहरीका एक दरोगाका दुई छोरामाथि गोली प्रहार हुँदा कान्छा छोराको मृत्यु भएको छ भने जेठा छोरा गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना सोमबार राति (१९ अक्टोबर) मानपुर क्षेत्रको मुफस्सिल थाना अन्तर्गत नौरंगा आहारनजिक सिद्धार्थपुरी मोहल्लामा भएको हो। घटनामा मृत्यु हुनेमा ३० वर्षीय रानू सिंह रहेका छन्।

 गोली लागेर गम्भीर घाइते भएका उनका ३२ वर्षीय दाजु मोनू सिंहको मगध मेडिकल अस्पतालमा उपचार भइरहेको छ। दुवै जना मोतिहारीमा कार्यरत प्रहरी दरोगा सुधांशु शेखर उर्फ पिन्टु सिंहका छोरा हुन्।

उनीहरूको परिवार मूल रूपमा गयाजी जिल्लाकै अतरी थाना क्षेत्रको जेठियन गाउँको बासिन्दा रहेको र पछिल्ला केही वर्षदेखि मानपुरको सिद्धार्थपुरी मोहल्लामा बस्दै आएको समाचारमा उल्लेख छ।

परिवारका सदस्यका अनुसार, मोहल्लानजिक केही व्यक्तिबीच विवाद भएपछि दुवै दाजुभाइलाई फोन गरेर घटनास्थलमा बोलाइएको थियो। उनीहरू त्यहाँ पुगेपछि गोली प्रहार भएको बताइएको छ।

 घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलबाट गोलीका खोका बरामद गरी अनुसन्धान अघि बढाएको छ। स्थानीयस्तरमा जुवा तथा मदिरासम्बन्धी विवादका कारण गोली प्रहार भएको आशंका गरिए पनि प्रहरीले घटनाको वास्तविक कारण पुष्टि गरिसकेको छैन।

 घटनामा संलग्न व्यक्तिको पहिचान र गोली प्रहार गर्नुको कारणबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।फाेटाे:जागरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0