लगातारको वर्षासँगै आएको बाढी-पहिरोले ६ प्रदेशका मुख्य राजमार्ग र सडकखण्ड अवरुद्ध, यात्राअघि प्रहरीसँग समन्वय गर्न आग्रह

Sep 28, 2026 - 07:32
 0  4
लगातारको वर्षासँगै आएको बाढी-पहिरोले ६ प्रदेशका मुख्य राजमार्ग र सडकखण्ड अवरुद्ध, यात्राअघि प्रहरीसँग समन्वय गर्न आग्रह

१२ असाेज,काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशभरका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।

नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन् । केही स्थानमा साना सवारीसाधन सञ्चालनमा आए पनि ठूला सवारीसाधन चल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

 बागमती प्रदेशमा पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, बीपी राजमार्ग तथा हेटौंडा–भैंसे–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्ड प्रभावित छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० पानीधारामा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 चालिसे, परेवाभीर, कृष्णभीर, गौमतीखोला र गजुरी क्षेत्रका केही स्थानमा भने सडक एकतर्फी सञ्चालनमा रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी क्षेत्रमा पनि पृथ्वी राजमार्ग प्रभावित छ । काभ्रेको रोशी गाउँपालिका–८ गिम्दीबेंसी तथा वडा नम्बर ४ सयबेंसीमा पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

 मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरोका कारण हेटौंडा–काठमाडौं सडकखण्ड पनि अवरुद्ध छ ।

गण्डकी प्रदेशमा बेनी–जोमसोम, चामे–बेँसीसहर, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, मालढुंगा–बेनी तथा जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थान प्रभावित भएका छन् ।

बागलुङको निसीखोला–४ कानाबगरमा मध्यपहाडी लोकमार्ग र जैमिनी नगरपालिका–८ बेलबगरमा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ क्षेत्रमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध छ ।

पर्वत, मुस्ताङ, नवलपरासी पूर्व, लमजुङ र तनहुँका विभिन्न सडकखण्डमा पनि पहिरोका कारण यातायात प्रभावित भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेशमा दाङ, रोल्पा, गुल्मी, पाल्पा र अर्घाखाँचीका विभिन्न सडकखण्डमा समस्या देखिएको छ । रोल्पामा मदन भण्डारी राजमार्गअन्तर्गत घोराही–होलेरी तथा घोराही–मुर्कुटी सडकखण्डमा यातायात रोकिएको छ ।

 गुल्मीमा मदन भण्डारी राजमार्ग, रुद्रवेणी–वामीटक्सार सडक तथा कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ । पाल्पाको कालीगण्डकी करिडोर तथा सिद्धार्थ राजमार्ग र अर्घाखाँचीको माथिल्लो देउराली क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

 कर्णाली प्रदेशमा कर्णाली राजमार्ग, राप्ती राजमार्ग, कर्णाली करिडोर तथा नाग्म–गमगढी सडकखण्ड प्रभावित भएका छन् । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । सल्यानको कपुरकोट गाउँपालिका–५ मा राप्ती राजमार्ग पनि अवरुद्ध भएको छ ।

हुम्ला र मुगुका विभिन्न सडकखण्डमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशमा बाजुरा, दार्चुला लगायतका जिल्लामा सडक अवरुद्ध छन् । बाजुराको मार्तडी क्षेत्रमा साँफे–मार्तडी सडकखण्ड र दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ ऐरिछिनामा महाकाली राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

केही स्थानमा साना सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहे पनि ठूला सवारीसाधन सञ्चालनमा समस्या रहेको छ । यसैबीच, वर्षाका कारण सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

उदयपुरको कटारी–घुर्मी सडकखण्ड, मनाङका विभिन्न सडक तथा अन्य जोखिमयुक्त क्षेत्रमा निश्चित समयका लागि आवागमन रोकिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले सडकको अवस्था परिवर्तन भइरहन सक्ने भएकाले यात्रामा निस्कनुअघि सम्बन्धित प्रहरी कार्यालय तथा स्थानीय प्रशासनसँग समन्वय गरी सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0