मधेश प्रदेशद्वारा बाढीपीडितका लागि १ करोड ९६ लाख र मृतक परिवारलाई १ लाख राहत घोषणा
१७ भदाै,जनकपुरधाम । मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीसहित विभिन्न नदी क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री तथा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
मंगलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विपद्मा परी ज्यान गुमाएका मधेश प्रदेशका नागरिकका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो। मधेश सरकारका प्रवक्ता तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहका अनुसार बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि प्रदेश सरकारले १ करोड ९६ लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने निर्णय गरेको छ।
त्यसैगरी, प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा ७ सय सेट टेन्ट र ७ हजार थान कम्बल उपलब्ध गराउने निर्णय गरिएको छ। तत्काल आश्रय तथा चिसोबाट जोगाउन आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत व्यवस्थापन अघि बढाइएको प्रदेश सरकारले जनाएको छ।
विपद्मा परी घाइते भएका नागरिकका लागि मधेश प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिइएको छ।
राहत सामग्री गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोमार्फत नुवाकोट र रसुवाका जिल्ला प्रशासन कार्यालय, बागमती प्रदेश सरकार तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिने प्रवक्ता साहले जानकारी दिए। प्रदेश सरकारले प्रभावित क्षेत्रको वास्तविक आवश्यकताका आधारमा राहत वितरणलाई थप प्रभावकारी बनाउने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0