भीषण वर्षाको पूर्वानुमानपछि वायुसेवा कम्पनीलाई सतर्कता अपनाउन निर्देशन

Sep 23, 2026 - 15:05
 0  7
भीषण वर्षाको पूर्वानुमानपछि वायुसेवा कम्पनीलाई  सतर्कता अपनाउन निर्देशन

७ असाेज,काठमाडौँ । आगामी शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा तथा प्रतिकूल मौसमको सम्भावना रहेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले सदस्य वायुसेवा कम्पनीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले विभिन्न क्षेत्रमा भारीदेखि भीषण वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि सङ्घले बुधबार परिपत्र जारी गर्दै उडान सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएको हो।

सङ्घले प्रतिकूल मौसमका कारण हवाई यातायात प्रभावित हुनसक्ने भन्दै मौसमको अवस्था मूल्याङ्कन गरेर पूर्ण सुरक्षाको प्रत्याभूति भएपछि मात्रै उडान सञ्चालन गर्न आग्रह गरेको छ।

विभागका अनुसार उक्त अवधिमा विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका केही स्थानमा पनि चट्याङ, हावाहुरी र भारी वर्षा हुनसक्ने जनाइएको छ।

हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातका कारण पर्वतारोहण तथा यात्रा जोखिमपूर्ण बन्नसक्ने भन्दै सङ्घले त्यसतर्फ पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम हुनसक्ने भएकाले सम्भावित आपतकालीन अवस्थाका लागि उद्धार कार्य सञ्चालन गर्न आवश्यक तयारी अवस्थामा रहनसमेत वायुसेवा कम्पनीहरूलाई अनुरोध गरिएको छ।

 सङ्घका अध्यक्ष प्रतापजंग पाण्डेले मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट नियमित रूपमा हेर्न र उडान सुरक्षालाई सर्वोच्च प्राथमिकता दिन आग्रह गरेका छन्।फाईल फाेटाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0