बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कहाँ खुल्यो कहाँ बन्द?
३० भदाै,काठमाडौं । बाढी, पहिरो तथा सडक निर्माणका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
सडक अवरोधको पछिल्लो विवरणअनुसार केही स्थानमा सडक पूर्णरूपमा बन्द छन् भने केही खण्डमा एकतर्फी तथा निश्चित समयअनुसार सवारी सञ्चालन भइरहेको छ।
काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा बाढीको सम्भावनाका कारण सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्गमा भने १० टनसम्मका मालवाहक सवारी साधन निश्चित समयअनुसार सञ्चालन भइरहेका छन् भने अन्य सवारी साधन पनि परिस्थितिको अवस्था हेरी सञ्चालन गरिने जनाइएको छ। रसुवामा बाढीका कारण मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। विदुर नगरपालिका–१० सिमटारमा पनि सडक अवरोध भएको विवरणमा उल्लेख छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र वडा नं. १० ज्वाङखोलामा पहिरोका कारण पृथ्वीराजमार्ग प्रभावित भएको छ।
ज्वाङखोलामा सडक पूर्णरूपमा अवरुद्ध रहेको छ भने शीतलबजार क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेको छ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मत भइरहेकाले सवारीको चाप हेरेर एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ धारापानीस्थित चामे–बेंसीसहर सडकखण्डमा बाटो निर्माणका कारण ठूला सवारी प्रभावित भए पनि साना सवारी साधन सञ्चालनमा रहेका छन्। यस्तै, कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ खरीखेतमा पहिरोका कारण कर्णाली करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0