फ्लाइदुबई विमानमा हाइज्याकको संकेत, साउदीमा सुरक्षित अवतरण
१४ असाेज,एजेन्सी। दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाहक विमानले उडानका क्रममा आपत्कालीन तथा सम्भावित ‘अनलफुल इन्टरफेरेन्स’को संकेत पठाएपछि उत्पन्न सुरक्षा त्रासदी विमान साउदी अरबको तबूक विमानस्थलमा सुरक्षित अवतरण गरेसँगै तत्कालका लागि साम्य भएको छ।
विमानबाट आपत्कालीन संकेत प्राप्त भएपछि सम्भावित हाइज्याकको आशंकामा इजरायलमा सुरक्षा सतर्कता बढाइएको थियो। इजरायली वायुसेनाका लडाकु विमानसमेत तयारी अवस्थामा राखिएको बताइएको छ। विमानलाई गन्तव्य तेल अभिभ नपुर्याई साउदी अरबको तबूक विमानस्थलतर्फ मोडिएको थियो।
विमानमा करिब १८० जना यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विमानमा रहेका सबै व्यक्ति सुरक्षित रहेको पुष्टि भएको छ। प्रारम्भिक विवरणअनुसार विमान हाइज्याक भएको आशंका भने कमजोर बनेको छ।
इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विमानका दुई पाइलटबीच भएको विवाद तथा शारीरिक झगडाका कारण आपत्कालीन संकेत सक्रिय भएको हुनसक्ने बताएका छन्। यद्यपि घटनाको वास्तविक कारणबारे औपचारिक अनुसन्धानपछि मात्रै अन्तिम निष्कर्ष आउनेछ।
घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले सुरक्षा अधिकारीहरूसँग आकस्मिक छलफल गरेको विवरण सार्वजनिक भएको छ। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले विमानको अवस्थाबारे निगरानी बढाएका थिए।
तबूकमा विमान अवतरण गरेपछि चालक दलसँग सोधपुछ तथा विमानको सुरक्षा जाँच अघि बढाइएको छ। पछिल्लो विवरणअनुसार अनुसन्धान विमानभित्र वास्तवमा के भएको थियो र आपत्कालीन संकेत किन सक्रिय भयो भन्ने विषयमा केन्द्रित छ।
विमान सुरक्षित रूपमा अवतरण गरेपछि यात्रुहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटनाका कारण केही समय दुबई–तेल अभिभ हवाई मार्गमा सुरक्षा चिन्ता बढेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0