पाल्पामा वर्षाको वितण्डा : पहिरोमा दुई जनाको मृत्यु, तीन बेपत्ता
ईर्साद अन्सारी
११ असाेज,पाल्पा । अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाल्पामा वितण्डा मच्चाएको छ। पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
दुई दिनदेखि अबिरल परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको छ।
प्रहरी नायब उपरीक्षक विमल भट्टराईका अनुसार ठिमुरेमा पहिरोले घर पुरिँदा कृष्णकुमारी सारु बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।
यस्तै, माथागढी गाउँपालिका–२ रुप्से रजौलीका शेरबहादुर चिदीको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षासँगै आएको पहिरोका कारण जिल्लाका विभिन्न ग्रामीण सडक तथा बस्ती जोखिममा परेका छन्। यसैबीच, कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ।
कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याम नजिकै रहेको उक्त पुल बाढीले बगाएको प्रहरीले जनाएको छ। बाढीका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ। झडेवा फाँटलगायतका क्षेत्रमा पानी पस्दा धानबालीमा समेत क्षति पुग्ने अवस्था देखिएको छ।
माथागढी गाउँपालिका–४ झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार जोखिममा परेका छन्। गाउँपालिका अध्यक्ष यम चिदीका अनुसार जमिन चिरिएसँगै स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।
लगातारको वर्षाका कारण पाल्पाका नदी तथा खोलानालामा पानीको सतह बढेको छ। सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0