नेपाल-भारत बैठकमा नेपाली झण्डा नराखिनु कुटनीतिक खेलवाड: पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

Sep 18, 2026 - 12:00
 0  9
नेपाल-भारत बैठकमा नेपाली झण्डा नराखिनु कुटनीतिक खेलवाड: पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

२ असाेज,काठमाडौं । एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारतबीचको औपचारिक बैठकमा नेपाली राष्ट्रिय झण्डा नराखिएको विषयलाई ‘कूटनीतिक खेलवाड’को संज्ञा दिएका छन्।

 उनले यस्तो अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा गम्भीर खोजबिन हुनुपर्ने बताएका छन्। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग बुधबार वान टु वान तथा सामूहिक वार्ता गरेका थिए।

 सो क्रममा सार्वजनिक भएको तस्बिरमा भारतीय अर्थमन्त्रीको छेउमा भारतीय झण्डा राखिएको देखिए पनि नेपाली अर्थमन्त्रीको छेउमा नेपाली झण्डा देखिएको छैन। दुई देशका प्रतिनिधिमण्डलबीच भएको वार्ताको तस्बिरसमेत अर्थमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ, जसमा दुवैतर्फ भारतीय झण्डा राखिएको देखिन्छ।

ज्ञवालीले दुई देशबीचको द्विपक्षीय वार्तामा दुवै पक्ष समान हैसियतमा प्रस्तुत हुनुपर्ने बताएका छन्। उनका अनुसार औपचारिक उच्चस्तरीय बैठकमा एउटा देशको मात्रै झण्डा राखिनु कूटनीतिक दृष्टिले उचित हुँदैन। ‘यो कुनै अनौपचारिक बैठक थिएन ।

 दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भएको औपचारिक वार्ता थियो । यस्तोमा एउटा देशको मात्रै झण्डा हुनु शोभनीय हुँदैन । यो न्यूनतम कूटनीतिक प्रोटोकल विपरीत छ,’ ज्ञवालीले भने। उनले यस्ता बैठकमा आयोजक देश र भ्रमणमा आएको देशबीच आवश्यक समन्वय हुनुपर्ने बताए।

आयोजक पक्षसँग नेपाली झण्डा उपलब्ध नभएको अवस्थामा नेपाली दूतावासले त्यसको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। ‘मन्त्रीजीलाई थाहा नहुन सक्छ । यसमा दूतावासले ध्यान पुर्‍याउनुपर्थ्यो । राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा गम्भीर चुक भएको छ । अब यस्तो गल्ती दोहोरिन हुँदैन,’ ज्ञवालीले भने।

 ज्ञवालीले बैठकमा झण्डा राख्ने विषय सामान्य व्यवस्थापनको कुरा मात्रै नभई दुई देशबीचको औपचारिक कूटनीतिक सम्बन्ध र समान हैसियतसँग जोडिएको विषय भएकाले सम्बन्धित पक्षले यसबारे गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0