नसालु पदार्थ सेवन गराई बेहोस बनाएर सुनका गहना चोरी, रामेछापमा दुई जना पक्राउ
२९ भदाै,रामेछाप । रामेछापमा नसालु पदार्थ सेवन गराई महिलालाई बेहोस बनाएर सुनका गहना चोरी गर्ने तथा चोरीको गहना खरिद गर्ने दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–६, कुनौरीकी ५४ वर्षीया विभा माझीलाई गत भदौ २४ गते दिउँसो अपरिचित महिलाले नसालु पदार्थ सेवन गराई बेहोस बनाएकी थिइन्। त्यसपछि उनको दुवै कानमा लगाएको सक्कली सुनको बेरुवा रिङ निकालेर त्यसको सट्टामा नक्कली गहना लगाइदिई फरार भएको प्रहरीले जनाएको छ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले शंकास्पद स्थानमा जडान गरिएका सीसी क्यामेराको फुटेज जाँच गरेको थियो। फुटेजको आधारमा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी चोरी भएको सुनको गहना खरिद–बिक्रीमा समेत संलग्न रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ बस्ने ३६ वर्षीय सीताराम लोहार र गोकुलगंगा गाउँपालिका–२, दोर्जेकी ५३ वर्षीया मैया कार्की रहेका छन्। लोहार मन्थलीस्थित न्यू सनराईज ज्वेलर्सका सञ्चालक हुन्। उनको पसलबाट पीडितको कानबाट निकालिएको १४ लाल १ प्वाइन्ट तौलको सुनको बेरुवा रिङ दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, कार्कीको घरबाट पहेँलो रङको धातुको बेरुवा रिङ दुई थान, औँठी एक थान, फुली दुई थान, किप्याड मोबाइल चार थान र नगद ७ हजार ३ सय रुपैयाँ बरामद गरिएको छ। प्रहरीले कार्कीको घरबाट कालो रङको ‘क्याट’ लेखिएको झोला, चोरी गर्दा लगाएको भनिएको गाढा रातो रङको ज्याकेट तथा रातो रङको कुर्ता–सुरुवालसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0