नक्कली सुन देखाएर १ करोड ३९ लाखभन्दा बढी ठगी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ
इर्साद अन्सारी
२८ भदाै,काठमाडौं । सुनजस्तो देखिने पहेंलो धातु देखाएर पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने २८ वर्षीय अनिष थापा मगर रहेका छन्। मिति २०८३ भदौ २५ गते साँझ करिब ६ बजे टोखा नगरपालिका–९, मिलन टोलस्थित एक गेस्ट हाउसबाट प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट नक्कली सुनजस्तो देखिने पहेंलो धातु ८५६ ग्राम बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार थापा मगरले उक्त धातुलाई सुनजस्तो देखाई विभिन्न व्यक्तिबाट पटक–पटक गरी रु. १ करोड ३९ लाख ३० हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
अनुसन्धानका क्रममा थापा मगर जबरजस्ती करणीसम्बन्धी कसुरको मुद्दामा कैदी रहेको र २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेको समेत खुलेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0