दल त्याग गरेका १० जनप्रतिनिधिको पद रिक्त, दुई उपाध्यक्ष पनि परे

Sep 16, 2026 - 09:14
 0  12
दल त्याग गरेका १० जनप्रतिनिधिको पद रिक्त, दुई उपाध्यक्ष पनि परे

ईर्साद अन्सारी

३१ भदाै,बारा । निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। 

आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका जनप्रतिनिधिले पछि दल परिवर्तन गरेको विवरण सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ मा रहेको व्यवस्थाअनुसार दल त्याग गरेको देखिएपछि उनीहरू निर्वाचित भएको पद रिक्त भएको आयोगले जनाएको हो।

आयोगको विवरणअनुसार मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको छ। मधेश प्रदेशअन्तर्गत धनुषाको शहीदनगर नगरपालिका–५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका–५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ।

कोशी प्रदेशमा खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई तथा मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको आयोगले जनाएको छ।

त्यस्तै, बागमती प्रदेशमा दोलखाको जिरी नगरपालिका–६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र वडा नम्बर ३ का वडाध्यक्ष खेटराज घिमिरेको पद रिक्त भएको छ। सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पदसमेत दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0