झापाको बिर्तामोडस्थित बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु
ईर्साद अन्सारी
५ कार्तिक,काठमाण्डाैं । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ४:१० बजे विद्युत् सर्ट भई आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो ।
ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको ठूला सवारीसाधन मर्मत केन्द्र (बडी ग्यारेज) को क्यान्टिनमा आगलागी भएको थियो । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा मात्रै करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको जनाइएको छ । घटनामा भएको थप क्षतिको विवरण संकलन भइरहेको छ भने आगलागीसम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0