चक्रवात ‘अर्नब’को प्रभाव: भारतको आन्ध्र प्रदेशमा भारी क्षति, १ लाख ८० हजारभन्दा बढी सुरक्षित स्थानमा
११ कातिक काठमाण्डाैं । भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले ठूलो क्षति पुर्याएको छ। चक्रवातका कारण करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने सयौँ रूख र बिजुलीका खम्बा ढलेका छन्।
राष्ट्रिय विपद् प्रतिकार्य बलका अनुसार आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ भने ३१ घरमा क्षति पुगेको छ। बुधबार बिहान आन्ध्र प्रदेश र पुडुचेरीको यानम तटीय क्षेत्र पार गरेको चक्रवातले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको छ।
भारतीय मौसम विभागका अनुसार चक्रवातको प्रभावका क्रममा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने झोक्कासहित गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको थियो। तटीय क्षेत्र पार गरेपछि चक्रवात कमजोर हुँदै गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो। मंगलबार राति खेतमा बिछ्याइएको विद्युत् तारमा सम्पर्कमा आएपछि ५३ वर्षीय पुरुषको मृत्यु भएको थियो। बुधबार बिहान अनकापल्ली जिल्लाको येल्लामञ्चिली क्षेत्रमा घरबाहिर खुला रहेको विद्युत् तारमा टेक्दा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। यद्यपि, राष्ट्रिय विपद् प्रतिकार्य बलका एक वरिष्ठ अधिकारीले आन्ध्र प्रदेशमा चक्रवातका कारण तीन जनाको मृत्यु भएको बताएका छन्।
चक्रवातको प्रभावले काकीनाडा, कोनासीमा, विशाखापट्टनम, अनकापल्ली र पश्चिम गोदावरीसहितका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। तीव्र हावाहुरीले सयौँ रूख उखेलिएका छन् भने बिजुलीका खम्बा ढल्दा विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति र सञ्चार सेवा अवरुद्ध भएका छन्। सडकमा रूख ढलेपछि यातायात प्रभावित भएको छ भने तल्लो भूभागमा पानी जमेको छ।
काकीनाडा जिल्लामा मात्रै सयौँ रूख र करिब १०० विद्युत् खम्बा ढलेको प्रारम्भिक विवरण छ। विशाखापट्टनममा पनि सयौँ रूख ढलेका छन्। काकीनाडा जिल्लाको उप्पाडा तटीय सडक पूर्ण रूपमा बगाएको छ भने अल्लुरी सीताराम राजु जिल्लाको ताडिगुडा गाउँस्थित पुरानो पुलसमेत बगेको छ।
चक्रवातका कारण धान तथा फलफूलका बालीमा समेत क्षति पुगेको छ। राष्ट्रिय विपद् प्रतिकार्य बलका अनुसार आन्ध्र प्रदेशमा करिब ५७ हजार मानिसलाई राहत शिविरमा सारिएको छ। यानमबाट पनि ३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ। भारतका विभिन्न सञ्चारमाध्यमले आन्ध्र प्रदेश र छिमेकी ओडिशा मिलाएर एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन्।
चक्रवात प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिकार्य बलका ३९ टोली परिचालन गरिएको छ। सडकमा ढलेका रूख हटाउने, विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने र प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने काम भइरहेको छ। ओडिशाका दक्षिणी जिल्लामा पनि सतर्कता बढाइएको छ।
गञ्जाम, गजपति, रायगडा, कोरापुट, मलकानगिरी र नबरङ्गपुरका जोखिमयुक्त तथा तल्लो भूभागमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। ओडिशाका ३० मध्ये १६ जिल्लामा विद्यालय तथा आङ्गनवाडी केन्द्र बन्द गरिएका छन्।
चक्रवातका कारण केही रेल तथा हवाई सेवा प्रभावित भएका छन्। प्रभावित तटीय क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना, सडक सफाइ र राहत वितरणलाई प्राथमिकता दिइएको छ।
भारतीय मौसम विभागले चक्रवात कमजोर हुँदै गए पनि प्रभावित क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम रहन सक्ने जनाएको छ। प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न र खुला विद्युत् तार तथा ढलेका बिजुलीका खम्बाबाट टाढा रहन आग्रह गरेको छ।एजेन्सीकाे सहयाेगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0