काठमाडौंमा आजपा सचिवालय बैठक : साहले भने– अन्तरिम सरकार र संविधानबिना राजनीतिक संकट समाधान हुँदैन
१७ असोज,काठमाण्डाैं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको बताएका छन्।
काठमाडौंको कोटेश्वरमा शनिबार बसेको आजपा सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै साहले जेनजी आन्दोलनले उठाएका मुख्य राजनीतिक, सामाजिक तथा शासन व्यवस्थासम्बन्धी मुद्दालाई सम्बोधन गर्न अन्तरिम सरकार र अन्तरिम संवैधानिक व्यवस्था आवश्यक रहेको बताएका हुन्।
साहले जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भए पनि त्यसअनुसार नयाँ संवैधानिक व्यवस्था निर्माण नगरिनु अहिलेको राजनीतिक अन्योलको प्रमुख कारण बनेको दाबी गरे। उनले वर्तमान राजनीतिक अवस्थाले संविधान र सरकारबीच नै गम्भीर प्रश्न खडा गरेको बताए।
‘यदि अहिलेकै संविधान ठीक हो भने सुशीला कार्की नेतृत्वको सरकार गठन गलत भयो, र यदि सुशीला कार्की नेतृत्वको सरकार गठन ठीक हो भने अहिलेको संविधान गलत छ,’ उनले भने।
साहले दुवै पक्षलाई एकैपटक सही ठहर गर्न नसकिने तर्क गरे। संविधानले प्रतिनिधिसभाको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने परिकल्पना नगरे पनि सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको भन्दै उनले यसलाई संवैधानिक संकटका रूपमा व्याख्या गरे।
‘प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुने परिकल्पना यो संविधानमा छैन। त्यसैले अहिलेको संविधानको आवश्यकता र औचित्यमाथि गम्भीर प्रश्न उठेको छ,’ साहले भने। वर्तमान संकटलाई पुरानै संवैधानिक व्यवस्थाभित्रबाट समाधान गर्न खोज्दा थप जटिलता उत्पन्न हुन सक्ने उनको भनाइ छ।
मुलुकलाई राजनीतिक निकास दिन तत्काल अन्तरिम सरकार गठन गरी अन्तरिम संवैधानिक व्यवस्थामार्फत अघि बढ्नुपर्नेमा उनले जोड दिए। साहका अनुसार जेनजी आन्दोलनले उठाएका राजनीतिक, सामाजिक तथा शासन व्यवस्थासम्बन्धी प्रश्नलाई सम्बोधन नगरी सरकार परिवर्तन मात्रै गर्दा संकट समाधान हुँदैन।
त्यसका लागि आन्दोलनका मुद्दा, राज्य सञ्चालनको संरचना र संवैधानिक व्यवस्थामाथि समेत पुनर्विचार आवश्यक रहेको उनले बताए।
आफ्नो राजनीतिक प्रतिवेदनमा साहले वर्तमान अवस्थालाई व्यवस्था र सरकारबीचको संवैधानिक अन्तरविरोधका रूपमा व्याख्या गर्दै अन्तरिम सरकार र अन्तरिम संविधान निर्माण गरेर मात्रै मुलुकलाई राजनीतिक निकास दिन सकिने उल्लेख गरेका छन्।
‘अहिले अन्तरिम सरकार र अन्तरिम संविधान गठन गरेर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने। आजपाले पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक संकट, जेनजी आन्दोलनपछि विकसित परिस्थिति तथा संवैधानिक व्यवस्थाको औचित्यमाथि बहस गर्दै अन्तरिम राजनीतिक तथा संवैधानिक व्यवस्थाको आवश्यकता औंल्याउँदै आएको छ।
आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाका अनुसार पार्टीको केन्द्रीय कमिटी बैठक आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बस्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0