कांग्रेस १५औँ महाधिवेशन: आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भोलि नयाँ नेतृत्वका लागि मतदान
२१ असाेज,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया निर्णायक चरणमा पुगेको छ।
महाधिवेशनको चौथो दिन आज उम्मेदवारी फिर्ता तथा सच्याउने प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारले आज बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन वा उम्मेदवारीमा आवश्यक संशोधन गर्न निवेदन दिन सक्नेछन्।
त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशन भएपछि दिनभर उम्मेदवारले महाधिवेशन प्रतिनिधिसँग भेटघाट तथा प्रचारप्रसार गर्न पाउनेछन्।
यस क्रममा विभिन्न समूह र उम्मेदवारले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गर्नेछन्। कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान भने बिहीबार हुने कार्यतालिका छ।
मतदान बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ। महाधिवेशनमा सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न पदमा उम्मेदवारी परेको छ।
उम्मेदवारी फिर्ताको समय सकिएपछि कुन–कुन पदमा प्रतिस्पर्धा हुने र कहाँ सहमति बन्ने भन्ने तस्वीरसमेत स्पष्ट हुनेछ। यसअघि महाधिवेशनको बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदनमाथि छलफल भएको थियो। अब महाधिवेशनको मुख्य ध्यान नयाँ नेतृत्व चयनतर्फ केन्द्रित भएको छ।
आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने र दिनभर प्रचारप्रसार चल्नेछ भने भोलि महाधिवेशन प्रतिनिधिले मतदानमार्फत कांग्रेसको आगामी नेतृत्व चयन गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0