ससुराको हत्या आरोपमा जाजरकोटमा बुहारी पक्राउ
१३ असाेज,जाजरकोट । ससुराको हत्या गरेको आरोपमा प्रहरीले जाजरकोटमा एक महिलालाई पक्राउ गरेको छ।
जुनिचाँदे गाउँपालिका–५ पाँगा बस्ने ७५ वर्षीय गंगाराम शाहीको हत्या घटनामा संलग्न रहेको आरोपमा उनकी माइली बुहारी शर्मिला शाही पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार २०८२ साउन ११ गते बेलुका करिब ८ बजे गंगाराम आफ्नै घरको सिँढी नजिक घाँटीको बाँया भागमा धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए।
घटनास्थलबाट प्रहरीले धारिलो हतियार हँसिया (खुर्पा) समेत बरामद गरेको थियो। घटनाबारे अनुसन्धान भइरहेको अवस्थामा मृतकका जेठा छोरा राजकुमार शाहीले २०८३ असोज ७ गते शर्मिला शाही घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरी दिएका थिए।
जाहेरीका आधारमा पक्राउ अनुमति लिएर प्रहरीले शर्मिलालाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। उनलाई अड्डासार गरी असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएको थियो।
सोही दिन जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले असोज १३ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0