वैदेशिक रोजगारी ठगी आरोपमा प्रेस युनियनकी केन्द्रीय सदस्य पक्राउ
३ असाेज,काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य बालिका शिवाकोटी पक्राउ परेकी छन्। उनीसँगै नेपाली कांग्रेसका रामेछाप नेता भरत चौलागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गर्दै उनीहरूले इजरायलमा केयर गिभरका रूपमा रोजगारीमा पठाइदिने भन्दै रकम संकलन गरेको आरोप छ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताअनुसार इजरायलमा केयर गिभरका लागि छनौट हुन नसकेका व्यक्तिहरूलाई समेत इजरायल पठाइदिने भन्दै उनीहरूले रकम लिएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार लक्की ड्रमा छनौट हुन नसकेका १ सय ५६ जनाबाट प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो। उनीहरूबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ।
पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका शिवाकोटी रहेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0