रुकुम पश्चिममा जिप दुर्घटना: चालकसहित दुई जनाको मृत्यु, १२ घाइते

Sep 13, 2026 - 13:03
 0  3
रुकुम पश्चिममा जिप दुर्घटना: चालकसहित दुई जनाको मृत्यु, १२ घाइते

२८ भदाै,रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा जिप सडकबाट करिब १०० मिटर तल खस्दा चालकसहित दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ८ः४५ बजे कोटगाउँबाट सिम्ली तर्फ आउँदै गरेको लु.१ च. ६०२९ नम्बरको डबल क्याप बलेरो जिप वडा कार्यालय नजिकै सिम्ली–दुली जोड्ने भित्री सडकखण्डबाट करिब १०० मिटर तल खसेको हो।

 दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका अन्दाजी २८ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 दुवै जनाको जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिममा उपचारका क्रममा दिउँसो १२ बजे मृत्यु भएको हो। दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी सिम्लीबाट तथा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।

 ११ जना घाइतेलाई बिहान ९ः३० बजे जिल्ला अस्पताल सल्ले पठाइएको थियो भने थप तीन जनालाई बिहान ९ः५० बजे सानीभेरी गाउँपालिका अस्पताल, छोटेबगरमा उपचारका लागि पठाइएको थियो। घाइतेमध्ये गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।

दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको र थप दुई जनालाई समेत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा सानीभेरी–६ का ३८ वर्षीय बलबहादुर पुन, ५० वर्षीया कौशिला पुन मगर, २० वर्षीया अन्जना पुन, ५० वर्षीया बृमि खत्री, अन्दाजी १५ वर्षीया बिबिशा पुन मगर, १५ वर्षीया खिमला पुन, अन्दाजी १५ वर्षीय विशाल बि.क., अन्दाजी ९ वर्षीय शिसिर पुन मगर, अन्दाजी १० वर्षीय रमेश कुसारी, १५ वर्षीय पूर्णबहादुर जैसी, २० वर्षीया रिता पुन मगर र जाजरकोटको शिवालय गाउँपालिकाकी अन्दाजी १७ वर्षीया ज्ञानु पुन मगर रहेका छन्।

घाइतेमध्ये बलबहादुर पुन र पूर्णबहादुर जैसीलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ। अन्जना पुन, विशाल बि.क. र ज्ञानु पुन मगरको अवस्था सिरियस रहेको जनाइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0