मुख्य राजमार्गमा अझै अवरोध, कतै एकतर्फी सञ्चालन त कतै पूर्ण बन्द
ईर्साद अन्सारी
१ असाेज,बारा । देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा अझै अवरोध कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सम्बन्धित निकायले आग्रह गरेको छ ।
२०८३ असोज १ गते बिहान ६ः३० बजेसम्मको विवरणअनुसार केही सडकखण्ड पूर्णरूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ । बागमती प्रदेशअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा बाढीको सम्भावनाका कारण यातायात सञ्चालनमा समय तथा सवारीको प्रकारअनुसार प्रतिबन्ध लगाइएको छ ।
बीपी राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरी अन्य सवारी साधन सञ्चालन गरिने जनाइएको छ ।
रसुवामा बाढीका कारण मुख्य राजमार्गहरूमा पूर्ण अवरोधको अवस्था रहेको छ । त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पहिरोका कारण पृथ्वी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
सोही गाउँपालिकाको शीतलबजार क्षेत्रमा पनि पहिरोका कारण पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन भइरहेको छ । गण्डकी प्रदेशअन्तर्गत मनाङको नासो गाउँपालिका–३ खोत्रोमा पहिरोका कारण चामे–बेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ ।
त्यसैगरी, कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ खरीखेतमा पहिरोका कारण कर्णाली करिडोर पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ ।
बाढी, पहिरो तथा मौसमजन्य जोखिमका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भएकाले लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी तथा सडक निकायबाट पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।फाईल फाेटाे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0