भोटेकोशी-त्रिशूली बाढीबाट भएको क्षतिप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव र संसदीय समितिहरूमा विभिन्न विषयमा छलफल हुँदै
ईर्साद अन्सारी
१७ भदाै,काठमाण्डाैं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधिसभाले औपचारिक रूपमा दुःख व्यक्त गर्ने तयारी गरेको छ।
संघीय संसद् सचिवालयका अनुसार सभामुख डोलप्रसाद अर्यालले बाढी तथा त्यसबाट सिर्जित मानवीय क्षतिका विषयमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
भदौ १० गते आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी र बेत्रावतीदेखि नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसम्मका क्षेत्र प्रभावित भएका थिए। धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका बस्तीसमेत बाढीको चपेटामा परेका थिए। विशेष प्रस्तावमार्फत बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारप्रति समवेदना तथा बेपत्ता नागरिकको अवस्थाप्रति दुःख व्यक्त गरिनेछ।
साथै, विस्थापितको व्यवस्थापन र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिने संसद् सचिवालयले जनाएको छ। यसैबीच, आज संसद्का विभिन्न समितिमा पनि महत्वपूर्ण विषयमा छलफल हुँदैछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। उक्त बैठकमा रसुवामा गएको बाढी–पहिरोले पर्यटन क्षेत्रमा पारेको असरबारे छलफल हुनेछ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ। समितिले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ।
यसरी आजको संसद् बैठकमा एकातिर बाढीबाट भएको मानवीय क्षतिप्रति शोक व्यक्त गरिँदैछ भने अर्कोतर्फ विपद्का कारण पर्यटन क्षेत्रमा परेको असर र कानुन निर्माणसम्बन्धी विषयमा समितिगत छलफल अघि बढाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0