बीपी राजमार्गको काभ्रे खण्ड असोज ८ देखि ११ सम्म चार दिन रातिको समयमा बन्द रहने
७ असाेज,काभ्रे । सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको बैठकले असोज ८ देखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो। जोखिमको अवस्था थप गम्भीर देखिएमा दिउँसोको समयमा समेत सवारी सञ्चालन रोक्न सकिने प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार विगतमा बाढीपहिरोबाट राजमार्गमा भएको क्षति र पछिल्लो मौसम पूर्वानुमानलाई ध्यानमा राखेर यात्रुको सुरक्षाका लागि निर्णय गरिएको हो। दुई वर्षअघि आएको बाढीपहिरोले बीपी राजमार्गका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।
केही स्थान अझै बाढी तथा पहिरोको जोखिममा रहेकाले वर्षाका बेला थप सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। रातिको यातायात रोक्ने निर्णय कार्यान्वयनमा सहजीकरण गर्न सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग समेत समन्वय गरिने भएको छ।
नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीमा पूर्वसूचना प्रवाह गरी नागरिकलाई सुरक्षित रहन सचेत गराउने कामलाई पनि तीव्रता दिइने प्रशासनले जनाएको छ।
सम्भावित विपद्का बेला उद्धार तथा राहतका लागि नेपाली सेना श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणका टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राखिने भएको छ। स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग पनि निरन्तर समन्वय गरिने प्रशासनले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0