बागलुङमा पहिरोको वितण्डा : १२ जनाको मृत्यु, एक महिला बेपत्ता

Sep 29, 2026 - 10:25
 0  7
बागलुङमा पहिरोको वितण्डा : १२ जनाको मृत्यु, एक महिला बेपत्ता

१३ असाेज,काठमाण्डाैं । अविरल वर्षासँगै आएको पहिरोमा परी बागलुङमा हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार यही असोज ९, १० र ११ गते परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा पहिरो र वर्षाजन्य विपद्का घटना भएका हुन्।

पहिरोमा पुरिएर मृत्यु हुनेमा पाँच पुरुष, चार महिला र तीन बालबालिका रहेका छन्। एक महिला अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको र क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

 प्रहरीका अनुसार बागलुङमा ५१ घर पूर्णरूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, १० गोठ पूर्ण र एक गोठ आंशिक क्षति भएका छन्। विपद्का कारण तीनवटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने दुई प्रहरी कार्यालय र दुई हाइड्रोपावरमा आंशिक क्षति पुगेको छ।

 एउटा विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएको छ। त्यसैगरी, एउटा वडा कार्यालय, एउटा रिसोर्ट र एउटा कृषि फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। वर्षा र पहिरोका कारण २५६ पशुचौपाया र २१५ कुखुरा समेत मरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

 प्रहरीका अनुसार विपद्बाट भएको क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य जारी रहेकाले क्षतिको विवरण अझ बढ्न सक्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0