बागलुङ र पाल्पामा पहिरो : एकै परिवारका चारसहित ६ जनाको मृत्यु, तीन बेपत्ता
११ असाेज,काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा परी बागलुङ र पाल्पामा एकै परिवारका चारसहित ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृत्यु हुनेमा श्यामकुमारी विक तथा उनका छोराहरू मनोज, मुकेश र निसान विक रहेका छन्।
प्रहरीका अनुसार पहिरोले घर पुरिएपछि उनीहरू घरभित्रै पुरिएका थिए। चारमध्ये तीन जनाको शव निकालिएको छ। परिवारका एक सदस्य बिहानै घरबाट बाहिर निस्किएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ।
यस्तै, पाल्पाका दुई छुट्टाछुट्टै स्थानमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको हो।
दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ। यसैबीच, पाल्पाको माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार घर्तीमगरको परिवारका दुई जना र छिमेकीकी एक छोरी बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0