प्रेस स्वतन्त्रता संकुचित नगर्न सरकारलाई पत्रकार महासंघको माग, धुलिखेल सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित
७ मंसिर,काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने गतिविधि रोक्न सरकारसँग माग गर्दै १६ बुँदे प्रस्ताव पारित गरेको छ ।
काभ्रेको धुलिखेलमा मंसिर ५ र ६ गते आयोजित सरोकारवालाहरूसँगको सम्मेलन तथा बैठकले प्रेस स्वतन्त्रता, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन र सूचनाको हकसँग सम्बन्धित विषयमा छलफल गर्दै प्रस्ताव पारित गरेको हो ।
महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारमाध्यमका सम्पादक, नेपाल बार एसोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायी, प्रेससँग सम्बन्धित संघ-संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरूको सहभागितामा सम्मेलन सम्पन्न भएको महासंघले जनाएको छ ।
महासंघले संविधान र प्रचलित कानुनले सुनिश्चित गरेका मौलिक तथा कानुनी हक संकुचित, नियन्त्रित र निर्देशित हुँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न सरकारसँग माग गरेको छ । संविधानको अक्षरशः पालना गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रस्तावमा प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र मिडिया काउन्सिल विधेयक तथा प्रस्तावित आमसञ्चार विधेयक सरोकारवालासँग व्यापक छलफल, परामर्श र सहमतिपछि मात्रै विधायिकी प्रक्रियाबाट अघि बढाउन माग गरिएको छ । त्यस्तै, सरकारी निर्देशनमा प्रेस काउन्सिल, पत्रकार तथा सञ्चारमाध्यममाथि हुने हस्तक्षेप, नियन्त्रण र गैरकानुनी निर्देशन बन्द गर्न महासंघले माग गरेको छ ।
पत्रकारलाई समाचारको स्रोत खुलाउन बाध्य पार्ने, धम्की दिने तथा प्रहरी प्रशासनमार्फत दबाब सिर्जना गर्ने कार्यसमेत रोक्न आग्रह गरिएको छ ।सञ्चारमाध्यमको मुख्यद्वारमा सवारी अवरोध गराउने र समाचार कक्षमा प्रहरी प्रवेश गरी समाचारको स्रोत खोज्ने घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कारबाही गर्न महासंघले माग गरेको छ ।
समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने तथा पत्रकारका मोबाइल, ल्यापटप र क्यामेराजस्ता सञ्चार सामग्री नियन्त्रणमा लिने र त्यसमा रहेका तथ्यांक मेटाउने वा हटाउन बाध्य पार्ने कार्य अन्त्य गर्न पनि प्रस्तावमा उल्लेख छ । महासंघले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी सुविधा तथा विज्ञापन बन्द वा संकुचित नगर्न सरकारसँग आग्रह गरेको छ ।
प्रदेशमा दर्ता भएका सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया प्रदेश संरचनाबाटै सहज बनाउनुपर्ने मागसमेत अघि सारेको छ । यसैगरी, गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकारलाई बिनाकारण ठूलो संख्यामा हटाइएको भन्दै हटाइएका सबै पत्रकारलाई पुनर्बहाली गर्न माग गरिएको छ ।
सूचनाको हक कार्यान्वयनमा भूमिका निर्वाह गर्ने राष्ट्रिय सूचना आयोगलाई लामो समय नेतृत्वविहीन राखिएकोप्रति आपत्ति जनाउँदै आयोगको प्रभावकारी सञ्चालन र सूचनाको हकमा अवरोध नगर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताको प्रत्याभूति, अदालतमाथिको राजनीतिक हस्तक्षेप तथा दबाब अन्त्य र बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हक हननसम्बन्धी रिट निवेदन तत्काल दर्ता गरी सुनुवाइ गर्नुपर्ने माग पनि प्रस्तावमा समेटिएको छ ।
प्रेस काउन्सिलमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व नराखिएमा काउन्सिलले जारी गरेको आचारसंहिता पालना गर्न बाध्य नहुने र महासंघ आफैंले आचारसंहिता जारी गरेर अघि बढ्ने घोषणा पनि गरिएको छ ।
त्यसैगरी, विभिन्न पेसाकर्मीको पेसागत स्वतन्त्रता संरक्षण गर्न, एफएम रेडियोमाथि लगाइएको दोहोरो तथा तेहोरो कर प्रणाली अन्त्य गर्न महासंघले माग गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रस्तावमा उल्लिखित सबै मागप्रति शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले समेत ऐक्यबद्धता जनाएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
1
दु:खद
0
क्या राम्रो
0