प्रेस स्वतन्त्रताको पक्षमा बाराका पत्रकार सडकमा, ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै प्रशासनअगाडि प्रदर्शन

Nov 25, 2026 - 16:09
 0  14
प्रेस स्वतन्त्रताको पक्षमा बाराका पत्रकार सडकमा, ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै प्रशासनअगाडि प्रदर्शन

९ मंसिर,बारा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, पत्रकारमाथिको धरपकड र श्रम अधिकार हननविरुद्ध नेपाल पत्रकार महासंघ बारा शाखाले बुधबार विरोध प्रदर्शन गरेको छ।

 नेपाल पत्रकार महासंघको केन्द्रीय आन्दोलनअन्तर्गत महासंघ बारा शाखाको आयोजनामा जिल्ला सदरमुकाम कलैयास्थित जिल्ला प्रशासन कार्यालयअगाडि पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको सम्मान, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गर्ने तथा स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने प्रयास तत्काल बन्द गर्न उनीहरूले माग गरेका छन्।

 नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, प्रदेश सदस्य साजिर मन्सुर, वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, रामेश्वर मेहता र गोकुल घोरसाइने सहभागी थिए।

त्यसैगरी फोटो पत्रकार महासंघका सचिव जितलाल श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष थमनेश्वर सापकोटा, महासंघका सदस्य नरेश गुप्ता, फोनिज बारा अध्यक्ष धीरेन्द्र पुनहर तथा पत्रकार पवन यादवसहित जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।

प्रदर्शनमा पत्रकारहरूले राज्यले प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र निर्भीक पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका थिए। पत्रकारमाथि हुने धरपकड र श्रम शोषणविरुद्ध पत्रकारहरू एकजुट भएर उभिनुपर्ने सन्देशसमेत प्रदर्शनमार्फत दिइएको थियो।

 महासंघका सचिव पुष्पराज खतिवडाका अनुसार केन्द्रीय समितिले घोषणा गरेको चरणबद्ध आन्दोलनका कार्यक्रमअनुसार बारा शाखाले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गरेको हो।नेपाल पत्रकार महासंघले पछिल्लो समय समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेशको प्रयास, सञ्चारकर्मीको जबर्जस्ती बर्खास्ती, पारिश्रमिक तथा श्रम अधिकारको उल्लंघनलगायत विषयलाई उठाउँदै चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

महासंघले मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो। माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अघि बढाउने महासंघले चेतावनीसमेत दिएको छ।

पत्रकारिता राज्यको निगरानी गर्ने लोकतान्त्रिक माध्यम भएकाले पत्रकारमाथिको असुरक्षा र प्रेसमाथिको हस्तक्षेपले नागरिकको सूचनाको हक तथा लोकतान्त्रिक अभ्यासमै असर पार्ने भन्दै महासंघले सरकारलाई आफ्ना मागप्रति गम्भीर बन्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0