प्रमुख राजमार्ग बन्द, बाढी–पहिरोले देशभर सडक अवरुद्ध, दर्जनौँ सडकखण्डमा राति सवारी आवागमन रोक

Sep 25, 2026 - 08:16
 0  9
प्रमुख राजमार्ग बन्द, बाढी–पहिरोले देशभर सडक अवरुद्ध, दर्जनौँ सडकखण्डमा राति सवारी आवागमन रोक

९ असाेज,काठमाडौं । लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि देशका विभिन्न जिल्लामा प्रमुख राजमार्ग तथा सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ।

 केही स्थानमा भने बाढी तथा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार असोज ९ गते बिहान ६ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडकमा आवागमन प्रभावित भएको हो।

कोशी प्रदेशअन्तर्गत पाँचथरको तुम्वेवा गाउँपालिका–२ नावाखोलामा बाढीका कारण तमोर करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ। सोलुखुम्बुमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्गलगायत जिल्लाका भित्री सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारी तथा पैदल यात्रुको रात्रीकालीन आवागमन रोकिएको छ।

भोजपुरमा पनि मध्यपहाडी लोकमार्गलगायत भित्री सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ। अत्यावश्यक सवारी, एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीलाई नजिकको प्रहरी इकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

 इलाममा मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाका सम्पूर्ण सडकमा रातिको समयमा आवागमन रोकिएको छ। बागमती प्रदेशमा काभ्रेको रोशी गाउँपालिका–८ किम्तिबेसीमा पहिरोका कारण बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

काभ्रे र सिन्धुलीमा बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। रसुवामा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। नुवाकोटमा टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने विदुर नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।

 बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। धादिङमा पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ। बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर तथा वडा नम्बर १० टिङराङखानी क्षेत्रमा पनि पहिरोका कारण राजमार्ग प्रभावित भएको छ।

मकवानपुरमा कान्ति राजमार्ग तथा भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आउने  सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

दोलखामा जिल्लाभरका सडकखण्डमा तथा सिन्धुपाल्चोकमा अर्को सूचना जारी नभएसम्म जिल्लाभरका सडकमा आवागमन प्रभावित हुने गरी रोक लगाइएको छ। चितवनमा नारायणगढ–मुग्लिन सडकखण्ड आसपास राति ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ।

गण्डकी प्रदेशअन्तर्गत मनाङमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। बेँसीसहर हुँदै खाङसार जाने सडक तथा लमजुङको सीमादेखि खाङसारसम्मको सडकमा समेत रातिको समयमा आवागमन रोकिएको छ।

लुम्बिनी प्रदेशका दाङ, रोल्पा लगायतका जिल्लामा पनि बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

 राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके, शहीद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटीलगायत सडकखण्डमा तोकिएको समयअनुसार रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

 प्रहरीले लगातारको वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम कायमै रहेकाले यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र आवतजावत गर्न तथा जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0