प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोडभन्दा बढी मौज्दात, भोटेकोशी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने
२९ भदाै,काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरे।
छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माण तथा नागरिकको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने बताए। प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण गर्ने र पुनर्स्थापनाको कामलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा प्रधानमन्त्रीले जनप्रतिनिधिसँग छलफल गरेका थिए।
प्रधानमन्त्री कार्यालयले छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0