नेपाली कांग्रेसको १५औँ महाधिवेशन: देउवा समूहद्वारा निर्वाचन आयोगमा छुट्टै कार्यतालिका दर्ता, आन्तरिक विवाद थप जटिल
१४ असाेज,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीका दुई समूहले छुट्टाछुट्टै प्रक्रिया अघि बढाएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो प्रस्तावित महाधिवेशन कार्यतालिकासहित निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको नेता एनपी साउदले जानकारी दिए।
पत्रमा वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका प्रस्तावित मिति तथा महाधिवेशनसँग सम्बन्धित कानुनी र प्रक्रियागत विषय समेटिएको बताइएको छ। देउवा समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु गर्ने तयारी छ।
असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
यस्तै, मंसिर ४ गते प्रदेश अधिवेशन तथा मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका देउवा समूहले अघि सारेको छ। ‘हामी अधिवेशन गर्दैछौँ भनेर पत्र निर्वाचन आयोगमा दर्ता गरेका छौँ,’ साउदले भने, ‘पत्रमा महाधिवेशनको तिथिमितिसहितका विवरण खुलाएका छौँ।’ देउवा समूहले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको विषय पनि आयोगलाई पठाइएको पत्रमा उल्लेख गरेको जनाएको छ।
सर्वोच्च अदालतबाट उक्त विषयमा पुनरवलोकनका लागि अनुमति पाएको प्रसंगसमेत पत्रमा समेटिएको बताइएको छ। महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि त्यसको नामावली निर्वाचन आयोगमा पठाएर पार्टीको अभिलेख अद्यावधिक गराउने जानकारीसमेत देउवा समूहले आयोगलाई गराएको छ।
यसअघि संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसको विकल्पमा देउवा समूहले असोज १५ गतेदेखि नै छुट्टै अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेपछि कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया समानान्तर रूपमा अघि बढेको हो।
पार्टीको आधिकारिकता तथा महाधिवेशनको वैधानिकतासँग जोडिएका विषयमा विवाद कायम रहेकाले कांग्रेसभित्रको आन्तरिक राजनीतिक प्रक्रिया थप जटिल बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0