नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोक
ईर्सााद अन्सारी
४ मंसिर,चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय गरेको हो।
घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
बन्द रहने समयावधिमा सडकमा रहेका जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने कार्य गरिनेछ। उक्त अवधिमा सो सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई आफ्नो यात्रा तालिका सोहीअनुसार मिलाउन र बन्द अवधिमा उक्त सडकखण्डमा यात्रा नगर्न अनुरोध गरेको छ। थप जानकारी तथा समन्वयका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0