नवलपरासीमा बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

Nov 26, 2026 - 08:04
 0  10
नवलपरासीमा बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

१० मंसिर,बारा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

बुधबार (मंसिर ९ गते) राति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी निवासी ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको हो।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

घाइतेमध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोला निवासी १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ।

 उनीहरूलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ। त्यस्तै, विनयी त्रिवेणी गाउँपालिका–४ का रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई पनि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ।

अन्य घाइतेमध्ये सुमेन्द्र चौधरी र आदिश आले उपचारपछि डिस्चार्ज भएका छन्। प्रिन्स विकलाई मध्यबिन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरीलाई सेवा मेडिकल अरुणखोलामा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

 दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0