दैलेखमा जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच जना गम्भीर घाइते
२३ कातिक,काठमाण्डाैं । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिहान ८ः५६ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
प्राप्त विवरणअनुसार आज बिहान ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा जीप चालक कालिकोट सन्नित्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन् ।
त्यस्तै, सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि गम्भीर घाइते भएका छन् । कैसि सार्की विषादी सेवन गरेकी बिरामी रहेको जनाइएको छ ।
घाइते पाँचै जनाको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनालगत्तै सबै घाइतेलाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0