जीतपुरसिमराको नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि अनुमतिको माग

Sep 17, 2026 - 12:20
 0  6
जीतपुरसिमराको नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि अनुमतिको माग

१ असाेज,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालमा सर्पदंश उपचार सेवा केन्द्र सञ्चालनका लागि अनुमति माग गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुलाई पत्र पठाएको छ।

 उपमहानगरपालिकाले सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति तयार रहेको जनाउँदै अस्पतालको अनुगमन गरी औपचारिक अनुमति प्रदान गर्न महाशाखासँग आग्रह गरेको हो। उपमहानगरपालिकाका अनुसार जीतपुरसिमरा क्षेत्रमा हरेक वर्ष ठूलो संख्यामा सर्पदंशका घटना हुने गरेका छन्।

 समयमा उपचार नपाउँदा सर्पदंशका बिरामीको मृत्यु तथा अपाङ्गता हुने जोखिमसमेत उच्च रहेको जनाइएको छ। हाल सर्पदंशका बिरामीलाई उपचारका लागि करिब ४० किलोमिटर टाढा रहेको प्रादेशिक अस्पताल कलैया वा करिब ३० किलोमिटर दूरीमा रहेको नारायणी अस्पताल वीरगञ्ज लैजानुपर्ने बाध्यता रहेको उपमहानगरपालिकाले जनाएको छ।

सर्पदंशको अवस्था गम्भीर रहेको र आर्थिक वर्ष २०८२/०८३ मा दुई बालबालिकाको मृत्यु भएपछि नगर अस्पतालमै सर्पदंश उपचार सेवा सञ्चालन गर्नुपर्ने माग बढेको उपमहानगरपालिकाको भनाइ छ।

 नगर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति उपलब्ध रहेकाले सेवा सञ्चालन गर्न अस्पताल सक्षम रहेको दाबी गरिएको छ। विगत तीन वर्षदेखि नगर अस्पतालमा मेडिकल अफिसर, नर्स तथा प्यारामेडिक्ससहितको टोलीबाट २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन हुँदै आएको छ।

 सो अवधिमा वार्षिक औसत ५० देखि ५५ जना सर्पदंशका बिरामी नगर अस्पतालको सम्पर्कमा आउने गरेका छन्। तर, उपचार सेवा उपलब्ध नभएकाले उनीहरूलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको उपमहानगरपालिकाले जनाएको छ।

 नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाले हस्ताक्षर गरेको पत्रमा महाशाखाबाट नगर अस्पतालको अनुगमन गरी सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0