जितपुरसिमरामा चक्कु प्रहारबाट युवकको मृत्यु, मुख्य आरोपीसहित ६ जना पक्राउ
४ असाेज,बारा । जितपुरसिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य आरोपीसहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ ३ गते साँझ करिब ५ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा सोही ठाउँका करिब ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको थियो।
जितपुरसिमरा–१६ का करिब २२ वर्षीय आयुष राईले चक्कु प्रहार गर्दा खड्काको घाँटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते खड्कालाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएकोमा साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो।
घटनापछि फरार भएका राईलाई प्रहरीले राति करिब १० बजे जितपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित रहेको आरोपमा अन्य पाँच जनालाई समेत पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–१ घर भई जितपुरसिमरा–२ बस्ने ३४ वर्षीया बिन्दु तामाङ, जितपुरसिमरा–२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना, २३ वर्षीय रत्न पाख्रिन तामाङ, जितपुरसिमरा–१६ की ४३ वर्षीया शान्ति राई र सोही ठाउँकी ४० वर्षीया सिता थापा मगर छन्।
पक्राउ परेका सबैमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0