गोलबजारमा हाटबजारको राजस्व हिनामिनाको आरोप, तत्कालीन नगरप्रमुख र उपप्रमुखविरुद्ध मुद्दा
ईर्साद अन्सारी
१० कातिक,काठमाण्डाैं । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेली र उपप्रमुख रेशमकुमारी थापासहितका प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुदरी हाटबजारको ठेक्कासम्बन्धी राजस्व हिनामिना र सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अनुसन्धान गरिएको थियो।
आयोगका अनुसार अनुसन्धानका क्रममा तत्कालीन नगरप्रमुख साह तेली, उपप्रमुख थापासहितका प्रतिवादीबीच आपसी मिलेमतो गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याउने तथा गैरकानुनी लाभ लिने बदनियत देखिएको छ।
नगरपालिकाको वडा नं. ६ र ७ मा पर्ने पशु हाटबजार, बाख्रा हाटबजार तथा गुदरी हाटबजारबाट राजस्व संकलन गर्ने प्रयोजनका लागि ठेकेदार वीरेन्द्रकुमार यादवलाई अमानतमा जिम्मेवारी दिइएको थियो। तर, नगरकार्यपालिकाको निर्णय तथा प्रचलित कानुनी व्यवस्थाविपरीत राजस्व छुट दिने निर्णय गरिएको आयोगको आरोप छ।
सोही विषयमा सार्वजनिक राजस्वमा हानिनोक्सानी पुगेको ठहर गर्दै आयोगले सम्बन्धित प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0