काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी बुढानीलकण्ठबाट पक्राउ परेका तीन चिनियाँ नागरिक र बरामद साढे २१ किलो सुन सार्वजनिक

Oct 9, 2026 - 15:50
 0  0
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी बुढानीलकण्ठबाट पक्राउ परेका तीन चिनियाँ नागरिक र बरामद साढे २१ किलो सुन सार्वजनिक

२३ असाेज,काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा भाडाको घर लिएर अर्धप्रशोधित सुन प्रशोधन गरी तोकिएको स्थानमा पुर्‍याउने गरेको खुलेको छ ।

चीनमा रहेका व्यक्तिको निर्देशनमा नेपालमा सुन प्रशोधन तथा ओसारपसार हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित भाडाको घरबाट २१ किलो ७५० ग्रामभन्दा बढी सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको ज्याङ्सु र गुआङडोङ क्षेत्रका २७ वर्षीय हान फेई, ३७ वर्षीय वाङ जिआनझेन र ४७ वर्षीय झोउ लोङछिन रहेका छन् । प्रहरीले बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँभन्दा बढी रहेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकले चीनको ग्वाङझाउमा बस्ने झेन जिया लेको निर्देशनमा काम गर्ने गरेका थिए । नेपालमा सुन कहाँ पुर्‍याउने, कसरी ओसारपसार गर्ने र अन्य आवश्यक निर्देशन उनीहरूले विच्याटमार्फत प्राप्त गर्ने गरेको बयान दिएका छन् ।

उनीहरूको मुख्य जिम्मेवारी भाडाको घरमा ल्याइएको अर्धप्रशोधित सुनलाई प्रशोधन गरेर तयारी अवस्थामा पुर्‍याउने र निर्देशनअनुसार तोकिएको स्थानमा पुर्‍याउने रहेको अनुसन्धानबाट खुलेको छ । तयारी सुन करिब ११ किलो, कच्चा सुन साढे १० किलो प्रहरीले बरामद गरेको सुनमध्ये १० किलो ९९७.९३ ग्राम तयारी अवस्थामा रहेको छ ।

त्यस्तै, अर्धप्रशोधित वा कच्चा अवस्थाको १० किलो ७५२.७५ ग्राम सुन बरामद भएको छ । दुवैको कुल तौल २१ किलो ७५०.६८ ग्राम रहेको प्रहरीले जनाएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिएको विवरणअनुसार असोज २२ गतेको बजार मूल्यका आधारमा बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा कायम गरिएको छ ।

तयारी अवस्थामा रहेको सुन घरको दोस्रो र तेस्रो तलाबाट तथा सुन ओसारपसारमा प्रयोग भएको गाडीबाट बरामद भएको हो । अर्धप्रशोधित सुन भने घरका विभिन्न तलामा पहेँलो धातुका टुक्रा र प्लास्टिकका पोकामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनसँगै नगद, ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरण र विभिन्न कागजातसमेत बरामद गरेको छ । चार महिनाको घरभाडा अग्रिम भुक्तानी अनुसन्धानका क्रममा सुन प्रशोधनका लागि प्रयोग गरिएको घरको भाडा र त्यसमा संलग्न व्यक्तिहरूको गतिविधिबारे पनि विवरण खुलेको छ ।

प्रहरीका अनुसार चिनियाँ नागरिक मिस्टर शु चानले घरधनीसँग मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी २४ जुलाई २०२६ देखि लागू हुने चार महिनाको अग्रिम भाडाबापत १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेका थिए । शु चान १५ अगस्ट २०२६ मा चीन फर्किएको र त्यसपछि नेपाल नआएको अनुसन्धानमा उल्लेख छ ।

चीन फर्कनुअघि उनले घरको साँचो झेन जिया लेलाई दिएका थिए । पछि झेन जिया लेले उक्त साँचो हान फेईलाई पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार हान फेई र झोउ लोङछिन २७ सेप्टेम्बर २०२६ मा नेपाल आएका थिए । त्यस्तै, शु चान १ अक्टोबर २०२६ मा नेपाल प्रवेश गरेको विवरण पनि अनुसन्धानमा उल्लेख छ ।

 सुनको बजार बुझ्न पनि आएका थिए हान फेई प्रहरीका अनुसार हान फेई यसअघि पनि परिवारसहित नेपाल आएका थिए । उनले ४ अगस्ट २०२६ मा नेपाल आएर सुनको बजार अवस्था र मूल्यबारे जानकारी लिएको तथा २९ अगस्टमा चीन फर्किएको बयान दिएका छन् ।

 त्यसपछि उनी २७ सेप्टेम्बरमा पुनः नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बीवाईडी एटो–३ गाडी भाडामा लिएका थिए । उक्त गाडी ११ अक्टोबर २०२६ सम्मका लागि भाडामा लिइएको अनुसन्धानमा उल्लेख छ । सुन ओसारपसारमा प्रयोग भएको उक्त गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि पनि काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ परेका थिए । पछिल्लो घटनाले पनि उक्त क्षेत्रमा भाडाको घर प्रयोग गरेर सुनको अवैध कारोबार सञ्चालन भइरहेको विषयमा अनुसन्धान केन्द्रित भएको छ । प्रहरीले बरामद सुनको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्ति तथा सुन पुर्‍याइने गन्तव्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0