कांग्रेस महाधिवेशन : नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरु, २९७ सदस्यीय कार्यसमिति बन्दै

Oct 6, 2026 - 12:28
 0  6
कांग्रेस महाधिवेशन : नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरु, २९७ सदस्यीय कार्यसमिति बन्दै

२० असाेज,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ ।

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण तथा दर्ता सुरु गरेको हो । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मंगलबार दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

नयाँ नेतृत्व चयनका लागि कांग्रेसका ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । पार्टीले यसपटक केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ ।

वरिष्ठ उपसभापति र महिला उपसभापतिको व्यवस्था थप गरिएको छ भने उपसभापतिको संख्या चार पुगेको छ । महामन्त्री तीन जना रहने व्यवस्था गरिएको छ, जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ ।

 पार्टीले प्रवक्ता पद पनि थप गरेको छ भने आवश्यकताअनुसार विषयगत सहप्रवक्ता राख्न सकिने व्यवस्था गरेको छ । कांग्रेसको नयाँ विधानअनुसार निर्वाचन हुने पद र सदस्य संख्या यसप्रकार छन् : १. सभापति–१ २. वरिष्ठ उपसभापति–१ ३. उपसभापति–४, जसमा एक महिला र एक समावेशी ४. महामन्त्री–३, जसमा एक महिला ५. निर्वाचित सहमहामन्त्री–११ ६. सभापतिबाट मनोनीत चार सहमहामन्त्री र एक कोषाध्यक्ष ७. सभापतिबाट मनोनीत एक प्रवक्ता तथा आवश्यकताअनुसार सहप्रवक्ता ८. प्रत्यक्ष निर्वाचित खुला सदस्य–४५ ९. महिला महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित सदस्य–१५ १०. प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना गरी २८ तथा काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई सदस्य ११. दलिततर्फ–१४ १२. आदिवासी जनजातितर्फ–२० १३. खसआर्यतर्फ–१८ १४. मधेशीतर्फ–१३ १५. थारुतर्फ–६ १६. मुस्लिमतर्फ–५ १७. पिछडिएको क्षेत्रतर्फ–२ १८. अल्पसंख्यकतर्फ–१ १९. अपाङ्गता भएका प्रतिनिधिमध्येबाट–१ २०. श्रमिकतर्फ एक महिलासहित–३ २१. पेशागत तथा विषयगत क्षेत्रबाट दुई महिलासहित–७ २२. युवा महाधिवेशन प्रतिनिधिबाट प्रत्येक प्रदेशमा एक महिलासहित दुई र खुलातर्फ सात गरी–२१ २३. नेपाली जनसम्पर्क समितिबाट दुई महिला खुलासहित–७ २४. प्रजातन्त्र सेनानी, शहिद परिवार तथा द्वन्द्व प्रभावित परिवारबाट एक शहिद परिवारसहित–३ २५. केन्द्रीय सभापतिबाट मनोनीत–६६ प्रतिनिधिसभा संसदीय दलका नेता र प्रदेश कार्यसमितिका सभापति भने केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

यसपटक कांग्रेसले पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउँदै समावेशी प्रतिनिधित्वलाई समेत नयाँ संरचनामा समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0