औद्योगिक सुरक्षामा क्विक रेस्पोन्स टिम बनाउने सीडीओ अधिकारीको प्रतिबद्धता

Sep 20, 2026 - 18:00
 0  18
औद्योगिक सुरक्षामा क्विक रेस्पोन्स टिम बनाउने सीडीओ अधिकारीको प्रतिबद्धता

४ असोज,बारा । वीरगन्ज उद्योग वाणिज्य संघले बाराका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (सीडीओ) खडानन्द अधिकारीसँग भेटघाट तथा छलफल गर्दै उद्योगी व्यवसायीको सुरक्षा र व्यावसायिक वातावरण सुधारका विषयमा ध्यानाकर्षण गराएको छ।

संघका अध्यक्ष हरिप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले सीडीओ अधिकारीलाई स्वागत गर्दै औद्योगिक क्षेत्रमा देखिएका सुरक्षा चुनौती, व्यवसायीका समस्या तथा प्रशासन र निजी क्षेत्रबीचको समन्वयका विषयमा छलफल गरेको हो।

 छलफलमा अध्यक्ष गौतमले उद्योग तथा व्यवसाय सञ्चालनका लागि शान्ति सुरक्षा महत्वपूर्ण रहेको भन्दै उद्योगी व्यवसायीको लगानी र सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरे। उनले बारा–पर्साका औद्योगिक क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि प्रशासन र निजी क्षेत्रबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।

संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले औद्योगिक क्षेत्रका सुरक्षा चुनौती, करसम्बन्धी विषय तथा व्यवसायीले भोग्दै आएका समस्याबारे प्रशासनको ध्यानाकर्षण गराए। वरिष्ठ उपाध्यक्ष माधव राजपालले वैध रूपमा सञ्चालन भइरहेका उद्योग व्यवसायलाई सहज वातावरण उपलब्ध गराउन प्रशासनसँग सहकार्य आवश्यक रहेको बताए।

जवाफमा सीडीओ अधिकारीले वैध तथा नियमसंगत व्यवसाय सञ्चालनका लागि सहज वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको बताए। औद्योगिक क्षेत्रको सुरक्षा प्रभावकारी बनाउन क्विक रेस्पोन्स टिम गठन गरी आवश्यक परेको अवस्थामा तत्काल सुरक्षा परिचालन गर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए।

औद्योगिक सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै अधिकारीले उद्योगी व्यवसायीलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन प्रशासनले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

 सरकारी कार्यालयबाट सेवा लिने सेवाग्राहीलाई सहज, सरल र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउनेतर्फ समेत प्रशासनले ध्यान दिने उनले बताए। छलफलमा संघका उपाध्यक्ष आशिष लाठ, सचिव प्रेमचन्द्र गोयल, सहसचिव अनुप अग्रवाललगायत कार्यसमिति सदस्यहरूको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0