एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन : आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने
६ असाेज,काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक आज बिहान ९ बजेबाट सुरु हुँदैछ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा जारी बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय दिइएको छ ।
सो समयमा पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा आफ्ना धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको आचार्यले जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सोमबार बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।
अध्यक्ष ओलीले बैठकमा प्रस्तुत गरेका नौवटा एजेण्डामध्ये आठवटाको कारबाही आजदेखि अघि बढाउने तयारी छ । आज क्रमशः केन्द्रीय कमिटी सदस्यको मनोनयन, विभाग गठन, पोलिटब्युरो गठन र स्थायी कमिटी गठनका एजेण्डा अघि बढाउने तयारी गरिएको छ ।
त्यसैगरी सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा अनुशासनसम्बन्धी विषयमा पार्टीको दृष्टिकोण तय गर्ने काम पनि यही बैठकबाट अघि बढाइनेछ । एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरूको मनोनयनसँगै बैठकमा नेताहरूले धारणा राख्ने क्रम सुरु हुनेछ ।
पोलिटब्युरो, स्थायी कमिटी लगायतका जिम्मेवारी बाँडफाँड भने बुधबार गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0