इजरायल पठाउने प्रलोभनमा साढे दुई करोड ठगी: प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गर्ने दुई जना सिआइबीको नियन्त्रणमा

Sep 18, 2026 - 22:08
 0  5
इजरायल पठाउने प्रलोभनमा साढे दुई करोड ठगी: प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गर्ने दुई जना सिआइबीको नियन्त्रणमा

२ असाेज,काठमाडौं । इजरायलमा केयर गिभरका लागि पठाइदिने भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी छन्।

नेपाल सरकार र इजरायल सरकारबीच भएको Government to Government (G to G) सम्झौताअनुसार सन् २०२४ मा इजरायलमा केयर गिभरका लागि कामदार पठाउन नेपाल सरकारले परीक्षा सञ्चालन गरेको थियो।

 उक्त परीक्षामा सहभागी भई लक्की ड्रमा छनोट हुन नसकेका १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं, सिवाकोटीलगायतले विश्वासमा पारेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनीहरूले प्रत्येक व्यक्तिबाट ६ लाख २० हजार रुपैयाँका दरले रकम लिएका थिए।

यसरी पीडितहरूबाट जम्मा २ करोड ५० लाख रुपैयाँ लिएर इजरायल पठाउने भन्दै बेइमानीपूर्वक ठगी गरेको भन्दै पीडितहरूले कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका थिए। जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै दुवै जनालाई २०८३ असोज १ गते पक्राउ गरेको हो।

 पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिई सीआईबीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0